• ‘सौराहा आउने पर्यटकमध्ये ७० प्रतिशतले जिप सफारी गर्छन्’

    ‘सौराहा आउने पर्यटकमध्ये ७० प्रतिशतले जिप सफारी गर्छन्’

    रत्ननगर, चितवन -पर्यटकीय नगरी सौराहामा आउने पर्यटकमध्ये करिव ७० प्रतिशतले जिप सफारी गरेर चितवन निकुञ्ज घुम्ने गरेका छन् ।

    सुरक्षित र सहज रुपमा वन्यजन्तु हेर्न पाइने भएकाले निकुञ्जको जिप सफारीमा पर्यटकको आकर्षण बढेको हो । संरक्षणकर्मी एवं पर्यटन व्यवसायी टीका गिरी बाघ गैँडालगायत वन्यजन्तु अवलोकनका लागि यहाँको जिप सफारी उत्कृष्ट अवसर भएको बताउनुहुन्छ ।

    जिप सफारीमा मयुर, चित्तल, रतुवा मृग, गौरीगाई, बँदेल, गोही, खुला खोरमा राखिएको अर्ना तथा विभिन्न प्रजातिका चरा अवलोकन गर्न सकिन्छ । चितवनको पूर्वी सेक्टरअन्तर्गत पर्ने सौराहा आसपास पदमपुर गैँडाको उत्कृष्ट वासस्थान हो । विसहजारी ताल, इचर्नी टापू, खोरसोर, बाघमारा वन, दुधौरा, कछुवानी र पूर्व कुमरोज गैँडाको राम्रो वासस्थान हो ।

    निकुञ्जको पूर्वी सेक्टरमा करिव ६० वटा गैँडा अभिलेख गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठक बताउनुहुन्छ । सौराहामा आउने पर्यटक हात्ती र जिप सफारीमा बढी रमाउँछन् ।

    “सौराहा आउने पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढीले जिप सफारी गर्छन्”, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले भन्नुभयो ।

    सिमसार क्षेत्र,घाँसे मैदान, वन्यजन्तुका स्थान, नदीतटीय वन र सालका जंगल एकैसाथ अवलोकन गर्न सकिने भएकाले पनि विभिन्न प्रजातिका वन्यजन्तु अवलोकन गर्न सौराहाको जिप सफारी महत्वपूर्ण हुने बाघ संरक्षण उपसमिति सौराहाका अध्यक्ष जितु तामाङको भनाइ छ ।

    सौराहाबाट निकुञ्ज घुम्नका लागि ४० भन्दा बढी जिप सञ्चालनमा छन् । निकुञ्जमा जिप सफारी गरेबापत गाइडसहित शुल्क रु एक हजार ५०० लाग्छ । पर्यटक प्रवेश गर्दा नेपालीलाई रु ११३, सार्कको नागरिकलाई रु ८५० तथा तेस्रो मुलुकका पर्यटकलाई रु एक हजार ६९५ थप शुल्क लाग्छ । एउटा जिप प्रवेश गर्दा निकुञ्जले रु चार हजार ५२० शुल्क लिन्छ ।

    सौराहा रेवानका अध्यक्ष गोकर्ण गिरी पर्यटन र संरक्षण सँगसँगै गएकाले पनि सौराहाको आसपास क्षेत्रमा हात्ती र जिप सफारीमा पर्यटकले सहजै गैँडालगायत वन्यजन्तु हेर्न पाउने बताउनुहुन्छ  - रासस

    २०७४

    तस्विर :  चितवन निकुन्जमा जिप सफारी / नेपाल ट्राभेल विज न्यूज

    • समाचार छोटकरी —

      नेपाल आउने विदेशी पर्यटक वृद्धि

      काठमाडौँ - सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ ।अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् ।

      तेस्रो हिमालयन ट्राभल मार्ट जुन ७–९ ,२०१९ मा

      काठमाडौँ - हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण आगामी वर्ष जुन ७ देखि ९ सम्म आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्ट बी–टु–बी प्रवद्र्धन मञ्च बनेको छ । मार्टको पहिलो दुई संस्करणहरु सन् २०१७ मा ५३ देशहरुवाट २२५ विदेशी प्रतिनिधिहरु तथा र सन् २०१८ मा ३६ देशहरुवाट १७० भन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता थियो /

      हनुमानढोका दरबार संग्रहालय सञ्चालन

      काठमाडौँ / तीन वर्षदेखि बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालय सञ्चालनमा आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नासलचोकमा रहेको संग्रहालय भवन पूर्णरुपमा क्षति भएपछि ऐतिहासिक सामग्री संग्रह गरिएको स्थल बन्द भएको थियो / हनुमानढोका क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई केही सामग्री देखाउने उद्देश्यले संग्रहालय दरबारको ढुकुटीमा सञ्चालन गरिएको छ ।संग्रहालय रहेको भवन  पूर्णतः बन्न अझै तीन वर्षभन्दा बढी समय लाग्नेछ /

       

      कीर्तिपुर - एक गन्तव्य

      यात्रा नेपाल

      सुन्दर चीन:एकीकृत पर्यटन वर्ष २०१८

      [table “4” not found /]

      नेपाल भ्रमण वर्ष - २०२०