• अन्नपूर्ण क्षेत्रमा वर्षेनी पदयात्रीको संख्यामा वृद्धि

    अन्नपूर्ण क्षेत्रमा वर्षेनी पदयात्रीको संख्यामा वृद्धि

    नेपालटुरन्यूज संवाददाता —

    पोखरा - नेपाल घुम्न आउने पर्यटकहरुलाई लोभ्याउने अन्नपूर्ण क्षेत्रमा पदयात्रीहरुको चाप हालका वर्षहरुमा उल्लेख्य रुपमा बढ्दै गएको छ /

    पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रको प्रवर्धनमा देश तथा विदेशका पर्यटन ब्यवसायीहरु संलग्न रहदै आएका छन् / अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक प्रमुख मानिन्छ ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अनुसार , सन् २०१७ मा एक लाख ५८ हजार ५८८ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए भने सन् २०१६ मा एक लाख १४ हजार १८७ जनाले सो क्षेत्रको भ्रमण गरेका थिए /

    यस्तै आव २०७३/०७४ मा पदयात्रा गर्ने पर्यटकबाट प्रवेश शुल्कबापत रु२३ करोड १५ लाख नौ हजार आम्दानी भएको  थियो /

    पृथ्बी राजमार्गको डुम्रे – बेसीशहर हुदै मनाङ सदरमुकाम चामेसम्म सवारी साधन पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ / लमजुङ सदरमुकाम बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति तीन सय तथा अन्य देशका पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ /

    प्रदेश ४ को कास्की, लमजुङ, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लामा ७,६२९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो संरक्षण क्षेत्र २०४९ साल (सन् १९९२) मा स्थापना गरिएको थियो /

    माछापुच्छ्रे र अन्नपूर्ण हिमाल, धौलागिरी, मनाङ र मुस्ताङ उपत्यकाहरू, गुरुङ र थकाली संस्कृति, विश्वमै प्राकृतिक दृश्यको आधारमा उत्कृष्ट मानिएको अन्नपूर्ण पदमार्ग (ट्रेकिंग रुट) यसका मुख्य आकर्षण हुन्। मुक्तिनाथ र दामोदर कुण्ड जस्ता प्रख्यात धार्मिक क्षेत्र तथा लोमानथाङ जस्ता सांस्कृतिक धरोहर यहाँ अवस्थित छन् ।

    यो संरक्षण क्षेत्र हिउँ चितुवा, कस्तुरी मृग, चिरु, तिब्बतीय गधा, तिब्बतीय खरायो, नाउर जस्ता विभिन्न जनावर र हिमाली वनस्पतिका लागि प्रख्यात छ ।

    २०७४

    तस्विर : अन्नपूर्ण आधार शिविर क्षेत्र /  नेपाल ट्राभेल बिज न्यूज

    • समाचार छोटकरी —

      नेपाल आउने विदेशी पर्यटक वृद्धि

      काठमाडौँ - सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ ।अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् ।

      तेस्रो हिमालयन ट्राभल मार्ट जुन ७–९ ,२०१९ मा

      काठमाडौँ - हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण आगामी वर्ष जुन ७ देखि ९ सम्म आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्ट बी–टु–बी प्रवद्र्धन मञ्च बनेको छ । मार्टको पहिलो दुई संस्करणहरु सन् २०१७ मा ५३ देशहरुवाट २२५ विदेशी प्रतिनिधिहरु तथा र सन् २०१८ मा ३६ देशहरुवाट १७० भन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता थियो /

      हनुमानढोका दरबार संग्रहालय सञ्चालन

      काठमाडौँ / तीन वर्षदेखि बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालय सञ्चालनमा आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नासलचोकमा रहेको संग्रहालय भवन पूर्णरुपमा क्षति भएपछि ऐतिहासिक सामग्री संग्रह गरिएको स्थल बन्द भएको थियो / हनुमानढोका क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई केही सामग्री देखाउने उद्देश्यले संग्रहालय दरबारको ढुकुटीमा सञ्चालन गरिएको छ ।संग्रहालय रहेको भवन  पूर्णतः बन्न अझै तीन वर्षभन्दा बढी समय लाग्नेछ /

       

      कीर्तिपुर - एक गन्तव्य

      यात्रा नेपाल

      सुन्दर चीन:एकीकृत पर्यटन वर्ष २०१८

      [table “4” not found /]

      नेपाल भ्रमण वर्ष - २०२०